Menu

Today Date

पाँच दिनसम्म मधेसमा ‘लू’ लाग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

Author
News Feed |
June 02, 2023
Featured

वीरगंज, १९ जेठ । बारासहितका मध्य तराईमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिउँसो ‘तातो दिन तथा लू सम्बन्धी बुलेटिन’ सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो।
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार मध्य तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने महाशाखाले जनाएको छ।

साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ।

तातो हावा तथा लूबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउँने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।

‘लू’बाट कसरी बच्ने ?
अहिले सबैको ध्यान कोरोनातर्फ सोझिएको छ । यद्यपि अन्य किसिमका स्वस्थ्य समस्याले पनि मान्छेहरूलाई सताइरहेकै छ । त्यसैले कोरानाको संक्रमणबाट बच्ने सावधानी अपनाइरहँदा अन्य स्वास्थ्य समस्याप्रति पनि सर्तक हुनुपर्छ ।

गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ। गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।

‘लू’ कसरी लाग्छ ?
मानव शरीरको संरचना अनौठो छ । बाहिरको तापक्रम जति सुकै परिवर्तित भए तापनि शरीर भित्रको तापक्रम सधैं ३७ डिग्री सेन्टिग्रेड नै भइरहन्छ । गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ ।

जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं । अत्यधिक गर्मीका कारण रक्तनलीहर” फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ । रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ ।

‘लू’का लक्षणहरू
-बारम्बार प्यास लागिरहनु ।
-अनुहार रातो हुनु, टाउको दुख्नु, दिगमिग हुनु र बान्ता हुनु ।
-अत्याधिक तापक्रमका कारण बेहोस हुनु ।
-नाडीको गति धेरै बढ्नुका कारण बिरामीको शरीरको तापक्रम १०१ देखि १०४ सम्म हुनु ।
-बिरामीमा छटपटी र उदासीनताको भाव देखिनु ।

‘लू’ लागेमा के गर्ने ?
-लूको  प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । ‘लू’बाट पीडित व्यक्तिलाई शीतल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनुपर्छ ।
यदि तपाईंलाई ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ, जसका कारण समयमा नै सबै कुराको नियन्त्रण हुन्छ ।
-‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल (नुन,चिनी,कागती र पानी) समय–समयमा पिइरहनुपर्छ ।

-‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ ।

-‘लू’ लागेमा पाकेको तित्री (इमली) को गुदीलाई हत्केला र खुट्टाको पैतालामा लगाउनाले ‘लू’को असर कम हुन्छ । इमली पानी पिउनाले ‘लू’बाट तुरुन्तै राहत प्राप्त हुन्छ ।

-दही र मौसमी फलफुल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस लू ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

-पुदिनाको सर्बत पिउनाले पनि लूबाट राहत प्राप्त हुन्छ । लूका बिरामीलाई तरल पदार्थ नै पिउन दिनुपर्छ ।

-लू लागेमा प्याजलाई पकाएर त्यसमा जिरा, चिनी र गाईको घिउ मिसाएर बिरामीलाई खानदिनु पर्छ। यसो गर्दा बिरामीलाई धेरै आराम प्राप्त हुन्छ ।

‘लू’बाट बच्ने उपाय

–काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।

–बेल, आँप, कागतीको सर्बतको सेवन गर्नुपर्छ । गर्मीमा बेल, आँप तथा कागतीको सर्बतले हाम्रो शरीरमा पानीको स्तरलाई कायम गरिराख्छ। जसले निकै हदसम्म लूबाट बचाउन पनि सहयोग पुर्‍याउँछ ।

–गर्मीको मौसममा कहिलेकाहीँ टाउको, खुट्टा तथा हातहरूमा मेहन्दी लगाउनाले पनि लूको असर कम हुन्छ ।

-घाममा खाली पेट निस्कनुहुँदैन, कागतीको सर्बत भए पनि खाएर निस्कनुपर्छ ।

–सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

–घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।

के खाने, के नखाने ?

कागती पानी प्रचुरमात्रामा खानुपर्छ । नुन, चिनी तथा कागतीको रस (भिटामिन-सी) लाई जीवन रक्षक तरल पदार्थ पनि भनिन्छ ।

साँझको बेला तारिएका खानेकुराहरु तथा चिल्लो-पिरो खानेकुरा खानु हुँदैन । प्राय: हल्का खाना खानुपर्छ। तर, धेरै व्रत बस्नु हुँदैन । मदिरापान नगर्नु नै उत्तम हुन्छ । भोजनमा प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ ।

ध्यान दिनु पर्ने कुराहरू

थोरैमात्र लापरवाहीले पनि तपाईंलाई लुले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला ।

एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।

यो स्थितिमा कुनै पनि व्यक्ति लूको शिकार बन्न सक्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।

कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ। जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ ।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *